– भुपेन्द्र बहादुर सिंह
जेष्ठ ३१, २०८२
नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा काठमाडौमा सम्पन्न भएको छ।

जेष्ठ २९ र ३० गते सञ्चालन भएको सो सभाको समुद्घाटन सत्रमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र महासचिव ज्ञानेन्द्र रावलको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहमा काँग्रेस नेताहरु उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, केन्द्रीय सदस्य नैनसिंह महर र अब्दुल सतार विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो। ने.शि. सङ्घका संस्थापक अध्यक्ष देवन्द्र प्रसाद उपाध्याय लगायत महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र विभिन्न सङ्घ सङ्गठनका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि लगायतका वक्ताहरूले विद्यालय शिक्षा ऐन सहमति बमोजिम निर्धारित समयमानै जारी गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्दै प्रतिस्पर्धी र समयानुकूल शिक्षा क्षेत्रको विकासमा सरोकारवाला सबैको आआफ्नो क्षेत्रबाट योगदान रहनुपर्ने कुरामा जोड दिनुभएको थियो।

यस २४औं सङ्घीय प्रतिनिधि सभाका अवसरमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सङ्घीय कार्य समितिले सम्मानित गरेका विभिन्न विधाहरु अन्तर्गत सुर्खेत जिल्लालाई दुई विधामा कर्णाली प्रदेशको उत्कृष्ट घोषणा गर्दै कदर-पत्र प्रदान गरेको छ।


जिल्ला कार्य समिति अन्तर्गतको महिला विभाग र ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.लाई सो अवसरमा उत्कृष्ट घोषणा गरिएको छ।


उक्त सङ्घीय प्रतिनिधिसभाको बन्दसत्रमा प्रस्तुत अध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, महासचिव (अर्थ) र नेपाल शिक्षक महासङ्घ अध्यक्षज्यूको प्रतिवेदनहरु माथि सात वटै प्रदेशहरुबाट समुहगतरुपमा छलफल गरी आएका टिप्पणी तथा सुझावहरुलाई प्रदेशगतरुपमा प्रस्तुतीकरण गरिएको थियो र कर्णाली प्रदेशका तर्फबाट सुर्खेत जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर रावतले प्रस्तुतीकरण राख्नुभएको थियो।


