फागुन १६, २०८२

नेपाल शिक्षक संघ, सुर्खेतको २७औं जिल्ला प्रतिनिधिसभा आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ। नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष श्री सुरेन्द्र बहादुर रावतको अध्यक्षतामा सम्पन्न सो प्रतिनिधिसभामा अध्यक्षबाट संस्थागत दृष्टिकोण र नीतिसहितको प्रतिवेदन, उपाध्यक्ष अमृता सापकोटाले महिला विभागको प्रतिवेदन, सचिव भुपेन्द्र बहादुर सिंहले सांगठनिक प्रतिवेदन, अर्थ सचिव नवीन कुमार महताराले आर्थिक प्रतिवेदन र संयोजक विष्णुप्रसाद चपाँईले सहकारी विभागको प्रतिवेदन पेश गर्नुभएको थियो।

यस प्रतिनिधिसभाका अवसरमा नेपाल शिक्षक संघको स्थापनाकालदेखिनै नेपाल शिक्षक संघ तथा नेपाल शिक्षक युनियन हुँदै महासंघको केन्द्रीय पदाधिकारीमा रही गर्नुभएको योगदानको उच्च कदर गर्दै नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका निवर्तमान उपाध्यक्ष एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य तिर्थजंग शाही र नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष एवम् नेपाली काँग्रेस, क्षेत्र नं.१, सुर्खेतका सभापति झक बहादुर डांगीलाई विशेष सम्मान गरिएको थियो। त्यसैगरी आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका सुर्खेत जिल्ला अन्तर्गतका नौवटै पालिकाका स्थानिय कार्य समितिहरु, नेपाल शिक्षक संघ, सुर्खेतको संस्थागत दृष्टिकोणमा प्रतिवद्ध र दृढ रही संस्थालाई विशेष योगदान गर्नुहुने शिक्षकहरु बालाराम अधिकारी, दुर्गा शाक्य, खगीसरा शाही, कुमारी विन्द्रा बडुवाल, हिरामणी पोखरेल, सुमित्रा खत्री र अभिभावक नन्दा पोखरेललाई एवम् नेपाल शिक्षक संघको संस्थागत विकासमा सदैव समर्पित ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.का सञ्चालक समितिका सचिव धर्मराज कार्की र व्यवस्थापक नैनसरा जि.सी.लाई पनि सम्मान गरिएको थियो।



नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका निवर्तमान उपाध्यक्ष तिर्थजंग शाहीको प्रमुख आतिथ्यताका साथै नेपाल शिक्षक संघ, संघीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाही र नेपाली काँग्रेस, सुर्खेत क्षेत्र नं.१ का सभापति एवम् नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष झक बहादुर डांगीको विशेष आतिथ्यता रहेको सो सभामा नेपाल शिक्षक संघ, संघीय कार्य समितिका सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली काँग्रेसका तर्फबाट सुर्खेत, क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण कुमार कोइराला लगायत नेपाल शिक्षक संघ र महासंघ तथा पेसागत र टे«ड युनियन संस्थाका केन्द्र, प्रदेश एवम् जिल्लास्तरका नेतृत्वहरुको आतिथ्यता रहेको थियो।


मन्तव्यका क्रममा प्रमुख र विशेष अतिथि लगायतका वक्ताहरुले २७औं जिल्ला प्रतिनिधिसभाको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल शिक्षक संघ, सुर्खेतबाट भएगरेका कार्यहरु र प्रस्तावित नीति तथा कार्यक्रमहरुमाथि रचनात्मक सल्लाह सुझावहरु दिदैं समसामयिक विभिन्न विषयमा चर्चा गर्नुभएको थियो।


२७औं जिल्ला प्रतिनिधिसभामा प्रस्तुत प्रतिवेदनहरु सुझावसहित पारित, जिल्ला कार्य समितिको बैठकबाट भएगरेका निर्णयहरुको अनुमोदन, सम्मानित व्यक्तित्व तथा स्थानिय कार्य समितिहरुलाई बधाई लगायतका विभिन्न निर्णयहरु गर्दै सम्पन्न सो सभामा उपाध्यक्ष अमृता सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्घाटन सत्र सचिव भुपेन्द्र बहादुर सिंह र बन्द सत्रको सञ्चालन सहसचिव भुपेन्द्र प्रसाद सुवेदीले गर्नुभएको थियो।
