


नेपाल शिक्षक संघको संक्षिप्त इतिहास
शिक्षकहरूको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका र स्वच्छ पत्रकारितालाई अनिवार्य शर्त एवं आदर्श मानी २०४७ साल वैशाख ३० गते विधिवत रुपमा आम नेपाली शिक्षकको गौरवमय संस्था नेपाल शिक्षक सङ्घको गठन भएको हो । २००७ सालपछि शिक्षामा भएको परिवर्तन सँगसँगै नेपाल शिक्षक सङ्घ निर्माणका आधारहरु पनि अघि बढेको पाइन्छ । २००७ चैतमा प्रजातन्त्रवादी शिक्षकहरु जेपी हाइस्कुलमा भेला भई रामजीप्रसाद शर्माको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।
विसं. २०१३ मा माध्यमिक शिक्षक सङ्घ गठन भएको थियो जसको अध्यक्ष आनन्द प्रसाद ढुंगाना हुनुहुन्थ्यो। त्यसताका प्रजातन्त्रवादी शिक्षकको सङ्घ गठन तयारी तत्कालीन राजा महेन्द्रको २०१७ को कदमले पूरा हुन पाएन । विसं. २०२३ सालमा प्रावि सङ्घ गठन भएको देखिन्छ । विसं. २०३६ सम्म पञ्चायती शासन कालमा सङ्घको गतिविधि न्यून रहेको पाइन्छ । २०३७ मा सबैखाले आस्थावान् शिक्षकको प्रयासमामा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण भएको थियो । २०४१/०४२ मा शिक्षक संगठनलाई कमजोर बनाउन तत्कालिन पञ्चायत सरकारले ल्याएको मावि र प्रावि सङ्घको अवधारणाबाट शिक्षकको आन्दोलन माथी उठ्न सकेन ।








