फाल्गुन १०, २०८१

नेपाल शिक्षक संघ, लेकवेशी नगरपालिकाको छैठौं नगर प्रतिनिधी सभा श्री जीवनज्योति मावि, दशरथपूरमा आज सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ, लेकवेशी नगर कार्य समितिका अध्यक्ष तिर्थ प्रसाद पौडेलको अध्यक्षतामा र नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेस, क्षेत्र नं. १, सुर्खेतका सभापति झक बहादुर डांगीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतिनिधी सभामा विशेष अतिथिहरु लेकवेशी नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रेसका नगर सभापति उमेश कुमार पौडेल, नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष एवम् ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि., वीरेन्द्रनगरका अध्यक्ष बालाराम अधिकारी, नेपाल शिक्षक संघ जिल्ला कार्य समिति, सुर्खेतका सचिव भुपेन्द्र बहादुर सिंह, अतिथिहरु नेपाल शिक्षक महासंघ, लेकवेशी नगर सचिव हरि प्रसाद सापकोटा, विद्यालय कर्मचारी परिषद्, लेकवेशीका अध्यक्ष धन बहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो।


नगर सचिव तिर्थ बहादुर थापाले सांगठनिक प्रतिवेदन र अर्थ सचिव लोक प्रसाद ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त सभामा शुभकामना मन्तव्यका क्रममा अतिथि वक्ताहरुले गुणस्तरीय शिक्षा प्रदानमा शिक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुका साथै लेकवेशी नगरपालिका भइरहेका विद्यालय शिक्षा सुधारका प्रयासहरु, नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्था हुनुका नाताले शिक्षकहरुबाट पार्टीले गरेको अपेक्षा एवम् शैक्षिक सरोकारका विभिन्न विषयमा आफ्ना अनुभव तथा धारणाहरु राख्नुभएको थियो।
नेपाल शिक्षक संघको नयाँ सदस्यता लिनुहुने नौ जना सदस्यहरुलाई स्वागत गरिनुका साथै सेवा निवृत्त हुनुभएका शिक्षकद्वय उमाकान्त सापकोटा र राम प्रसाद लम्साललाई सम्मान गरिएको उक्त सभामा नगर उपाध्यक्ष बाल कुमारी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सभाको सञ्चालन सचिव तिर्थ बहादुर थापाले गर्नुभएको थियो।



