प्रधानाध्यापक सिंहको स्पष्ट सन्देश : शान्तिपूर्ण रचनात्मकता कमजोरी ठानियो, आन्दोलनको स्वरुप फेर्न नेतृत्वसँग माग।”

सुर्खेत, भोटेचुली खबर।


राज्यको नीतिगत विभेद र पेशागत न्यायका मागसहित देशभर जारी शैक्षिक आन्दोलनको १५औं दिनमा प्रधानाध्यापक भुपेन्द्र बहादुर सिंहले आन्दोलनको वर्तमान मोडालिटीमाथि पुनर्विचार गर्न नेतृत्वलाई सुझाव दिएका छन्।

श्री प्रभात माध्यमिक विद्यालय, थानीचौर (भेरीगंगा-१०) का प्रधानाध्यापकसमेत रहेका सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, निरन्तर रचनात्मक प्रदर्शनलाई सरकारद्वारा कमजोरी ठानिएको गम्भीर संकेत दिएका छन्। “रचनात्मक आन्दोलन भन्दै माइतीघर-बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन, कला प्रस्तुति र छलफल मात्र गरेर बितेको १५ दिनमा सरकार झन् निरंकुश बन्दै गएको अनुभूति आमजनमानसमा बढ्दै गएको छ,” सिंहको भनाइ छ।

उनले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू सडक संघर्षकै उपज भएको स्मरण गराउँदै लेखेका छन्, “सडकबाट ऐन आउँदैन भन्ने शिक्षा हामीलाई आवश्यक छैन। आज तपाईंहरू जसले राजकीय सम्मान पाउनुभएको छ, ती सबै परिवर्तन सडकबाटै सम्भव भएका थिए।”

सिंहका अनुसार, जनस्तरमा शासन व्यवस्थाप्रति होइन, शासकको प्रवृत्तिप्रति नै गहिरो अविश्वास देखिन थालेको छ। “कतिपय घटनाक्रमले देखाउँछ कि अब नागरिकहरू शासन व्यवस्थाकै विकल्प खोज्न थालेका छन्, जुन तपाईंहरूका गतिविधिप्रतिको असन्तुष्टि हो,” उनले प्रस्ट पारे।

आन्दोलनको नेतृत्वले यदि उचित समयमा रणनीतिक पुनर्विचार गर्न सकेन भने त्यसको असर आम शैक्षिक समुदायमा नेतृत्वमाथि नै प्रश्न उठ्ने गरी देखिन सक्ने चेतावनी पनि सिंहले दिएका छन्। “यदि अहिलेको शैलीमै आन्दोलन लम्बिंदै गयो र कुनै ठोस उपलब्धि हासिल भएन भने, नेतृत्व स्वयं आलोचित बन्ने जोखिमबाट अछुतो रहने छैन,” उनले लेखेका छन्।

शिक्षक सिंहले सरकार र शासक वर्गलाई गम्भीरता देखाउन आग्रह गर्दै शान्तिपूर्ण आन्दोलनप्रति देखाइएको उपेक्षा लोकतान्त्रिक मूल्य मान्यतामाथिको चुनौती भएको संकेत गरेका छन्।


०३ चैत २०८१

ताजा लेखहरू

नेपाल शिक्षक संघ, भेरीगंगा नगरपालिका, सुर्खेतको छैठौं प्रतिनिधिसभा सम्पन्न।

माघ २६ ,२०८१ नेपाल शिक्षक संघ, भेरीगंगा नगरपालिका, सुर्खेतको छैठौं प्रतिनिधिसभा शारदा मा.वि.......